ओठहरू चाल्न खोज्दै
दायाँबायाँ इसारा गर्दै
आँखाका परेलाहरू
बोल्न खोज्दैछन्
हरेक किशोरीहरूको
कटु सत्य
उसैगरि मेरो पनि
तर यी बोलिहरू
मेरा मुखसँगै
सुकिसके, निसासिसके
बोलि अझै फुट्न सक्या छैन
भन्न आमालाई कि
आज मलाई रजस्वला भयो
शरीरका ढाँचा, हाउभाउबाट
बुझ्नुभयो मनको बोलि
मेरो पहिलो महिनावारी ।

भयत्रास अनि मौनताले
लतपतिएका मेरा हात
माथि सान्त्वनाका हातहरू
बन्दकोठाका कुनै कुनाकापचामा
गाउँदै छन् आज
रजस्वलाका ऐतिहासिक गाँथाहरू
आस्थिक र सच्चा भक्त मेरी आमा
वंचित गर्दै
आफ्नी आत्मीय छाँयालाई
केबल देवीदेवताका नाँउ भनी
खुसी राख्न भनी
भित्रिन पाउने छैनन्
जहाँ सूर्य देवताका
आश्वासनका स्पर्शहरू
अन्धकारले छरपस्ट यी झुपडीमा
जयजयकार गरिन्छन्, केबल
दुर्विचार हेलनाका भावनाहरू
शरीरको उत्पीडन अनि मेरो मस्तिष्क
बारम्बार सोच्दै छ कि
अब त म नछुने भईसके

आमा हजुरलाई पनि त थाहा छ नि
रजस्वला कुनै पापको प्रतिफल हैन
यो त नारीहरूको सौभाग्य हो
संसारभर हर्षका उमङ्गहरू छर्ने सौभाग्य
के यसलाई मनैबाट खुसी
हेरविचार अनि
सहि सोचका साथ
मनाउन सकिँदैन र?