आजका कुरा

Reading Time: < 1 minute

शहरको अस्तव्यस्त पुर्वी कुनामा
क्षितिजमा गोधुली साँझ छाउँदै गर्दा
यौटा मामुली कोठाको झ्यालबाट
थकित, आलस्य, म सोचिरहेथेँ;
कति निर्जीव सन्नाटा आज बिहानैदेखि!
लाग्छ, मान्छेहरु सास फेरिरहेका छैनन्
लाग्छ, बच्चाहरु रुन सकिरहेका छैनन्
जनावरहरु बस् सल्बलाउदो आकृतिहरु हुन्
मानौँ, चराहरुको शोकसभा चलिरा’छ।

यत्तिकैमा,
वातावरणको अटलताले असह्य भएर
पृथ्वीले हठात् आफ्नो गर्भ हल्लाइदिन्छे
झिनो नै  भएपनि
भुकम्पजस्तो कम्पनले थरर्र मुटु काँप्छ,
र यो प्रतित गराउँछे कि ऊ मरिसकेकी छैन।

कोरोनाको घिनलाग्दो अनि,
घातक कणहरुले आफ्नो विशाल
साम्राज्य बनाएको वर्षौ भएछ;
सम्झेर मनै चि~~~सो हुन्छ।
मेरो आतंकित हृदयलाई फेरि
माछापुच्छ्रेको हिमाली हावाले
न्यानोपनको आभाश दिन्छ,
र म अर्को प्रहरको प्रतीक्षा गर्छु।

दुई चार प्रहरपछि,
म फेवातालको किनारमा,
हरियो घाँसमाथि पल्टिरहेको छु।
एक चौथाइ मात्र खुलेको जुनको प्रतिविम्बले
तालको पानि लाई रात्रिकालिन स्थिरता
प्रदान गर्ने प्रयत्न गर्छ।
शान्त, शितल वातावरणले
मेरो बेचैन चंचलतालाई
टुक्रा टुक्रा पार्छ।
छेवैमा पल्टेको उसको औँलाहरु
घरिघरि मेरा कपालका रेशा मिलाउन आइपुग्छन्
र म हरेक पटक अलि बढी ढुक्क हुन्छु।

आत्महत्या, मृत्यु, बलात्कार, हिंसा,
चोरि- डकैती, आदि इत्यादिले भरिपूर्ण
छिनछिनको समाचारले बनाएको
एकतमासको उदास मनमा;
किताब, अनि सिनेमाका पात्रले
ध्यान कतै अन्तै बहलाईदिन्छन्;
संगितका तरेलिहरुले
क्षणिक नै किन नहोस्,
मुस्काउने कारण दिन्छ;
घरिघरि वेपर्वाह पर्ने झरिले
थोरै भएपनि आनन्द दिन्छ;
यो साँझ र उसको साथले
जे भएनि जीउने ऊर्जा दिन्छ;
र हरेक दिन झाङ्गिरहेका
मकैका झालहरुले
भोलि हुन्छ भन्ने आशा दिलाउँछ;
र त म आज पनि निदाउन सक्नेछु।